पूर्वाधार बिकास बैंकमा विदेशी संस्थाले ८५ प्रतिशतसम्म लगानी गर्न सक्ने
२७ साउन, काठमाडौं । राष्ट्र बैंकले पूर्वाधार बिकास बैंक सम्बन्धी नीतिगत व्यवस्था २०७४ शुक्रवार सार्वजनिक गरेको छ ।
पूर्वाधार विकास बैंकको रुपमा स्थापना हुने बैंकको न्यूनतम चुक्ता पुँजी रु. २० अर्ब हुनु पर्ने व्यवस्था यो नीतिले गरेको छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक बनाउने भएमा संस्थापक समूहले न्यूनतम ५१ देखि ७० प्रतिशत र सर्वसाधारण समूहको न्यूनतम ३० देखि ४९ प्रतिशत सेयर लगानी हुनुपर्नेछ । यसरी स्थापना हुने बैंकले सर्वसाधारणको लागि छुट्याएको मध्ये आफ्ना कर्मचारीलाई ०.२ प्रतिशतसम्म शेयर छुट्याउन सक्नेछ ।
त्यसैगरी, २० प्रतिशत वा सोभन्दा बढी तर ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर लगानी रहेको बैंकले सर्वसाधारणलाई कम्तिमा ३० प्रतिशत सेयर छुट्याउनै पर्ने भएको हो । सर्वसाधारणलाई ३० प्रतिशत सेयर छुट्याउँदा कर्मचारीलाई भने ३० प्रतिशत भित्रबाट नभई अलग्गै ०.२ प्रतिशतसम्म सेयर दिन सक्नेछ । विदेशी लगानीकर्ता र सर्वसाधारण समूहको सेयर छुट्टयाएपछि मात्र बाँकी रहने सेयर नेपाली संस्थापक समूहलाई छुट्टयाउन पाइने भएको हो ।त्यस्तै विदेशी साझेदारको रुपमा विदेशी बैंक वा वित्तीय संस्थाको संयुत्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ । यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । ८५ प्रतिशतसम्म सेयर वैदेशिक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुट्याउनै पर्नेछ ।
Reviews
There are no reviews yet.